आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड

र्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलामबाट देश विकासको सुरुवात भएको बताउनुभएको छ । सूर्याेदय नगरपालिकाको भवन आज बिहान शिलान्यास गर्दै नेता खनालले देश विकासका लागि सुदूरपूर्व इलाम सम्भावनायुक्त भएकाले यहीँबाट सुरुवात भएको उद्घोष गर्नुभयो । देशभरमा नयाँ घोषणा गरिएका नगरपालिकामध्ये सूर्याेदय नगरपालिका आर्थिक र स्रोतसाधनयुक्त भएकाले यसको विकासका लागि पनि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो । स्रोतसाधनले पनि भरिपूर्ण जिल्ला भएकाले इलाम पर्यटकीय दृष्टिकोणले ज्यादै सम्भावनायुक्त जिल्ला भएको उहाँले चर्चा गर्नुभयो । “यहाँ विश्वमै चर्चित सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने अन्तुडाँडा, रामसार सन्धिमा सूचीकृत माईपोखरी, सन्दकपुर, गजुरमुखी, कन्यामलगायतका दर्जनौँ पर्यटकीयस्थल छन्, यिनलाई चिनाएर पर्यटन व्यवसाय मजबुत पार्नुपर्छ,” खनालले भन्नुभयो । तानाशाही र सामन्ती राजसंस्थाको अन्त्यसँगै देशमा विकासको लहर फैलिएकाले सबै दल मिलेर भूकम्पबाट थिलथिलो भएको मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा खनालले जोड दिनुभयो । संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलको एकताका कारण संविधान निर्माणले पूर्णता पाएको र त्यसले देश विकासको ढोका खुलेको बताउनुभयो । भवन, विद्युत्, सडकलगायतका पूर्वाधार निर्माण गरेर मुलुकलाई सम्पन्न पार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सूर्याेदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले पाँचतले भवन निर्माणको पहिलो चरणमा एकतले भवन बनाउने र त्यसका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट रु दुई करोड सात लाख ५९ हजार ९३१ प्राप्त भएको जानकारी गराउनुभयो । स्रोत :http://dainiknepal.com/2015/112761.html

0 comments

Write Down Your Responses