अमेरिकी अदालतले माग्यो मोदीको भिषा रेकर्ड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको एक अदालतले प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सका अनुसार मोदीमाथि प्रतिबन्ध लगाउन माग गर्दै परेको मुद्दामा न्युयोर्कको जिल्ला अदालतले ओबामा प्रशासनसँग प्रवेश रोक लगाइएका मोदीको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँग सम्बन्धित सबै दस्तावेज २०१६ फेब्रअरी महिनाभित्र पेश गर्न आदेश दिएको हो । मुख्यमन्त्री भएकै बेला गुजरातमा भएको नरसंहारका मुख्य योजनाकार मानिएका मोदीलाई सन् २००२ मा अमेरिकाले भिषा नदिएर प्रवेशमा रोक लगाएको थियो । धार्मिक कट्टरताका लागि मानवअधिकार उल्लंघनकर्ता भएको बताउँदै अमेरिकाले उनको भिषा आवेदन अस्वीकार गरेको थियो । फैसला सुनाउँदै न्यायाधीश जोन कोएल्टलले विदेश विभागलाई मोदीको प्रतिबन्ध फुकुवा गर्नको कारणबारे मध्य जनवरीसम्म प्रारम्भिक दस्तावेज पेश गर्न आदेश दिएका हुन् । न्यायाधीशले अन्तिम दस्तावेज बुझाउने समय मध्य फेब्रअरीसम्मका लागि तोकेका छन् । अदालतले यो मुद्दामा अर्को सुनुवाई फेब्रअरी २९ तारिकमा गर्नेछ । अमेरिकास्थित सिख्स फर जस्टिस (एसएफजे) ले फ्रिडम अफ इन्फरमेसन एक्टअनुसार विदेश विभागसँग २०१३ मा नरेन्द्र मोदीसँग सम्बन्धित सबै दस्तावेज मागेको थियो । तर, विदेश विभागले सबै दस्तावेज उपलब्ध गराउन अस्वीकार गरेपछि एसएफजेले गत वर्ष अदालतमा मुद्दा दर्ता गर्दै मोदीमाथि प्रतिबन्ध लगाउने तथा उनलाई प्रवेशको फेरि अनुमती दिने सम्पूर्ण निर्णय उपलब्ध गराउन माग गरेको थियो । त्यही मुद्दाको फैसला गर्दै अदालतले विदेश विभागसँग प्रमाण मागेको हो । यसअघि सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामाको निम्तोमा दुई पटक अमेरिका गइसकेका छन् । ओबामाले मोदीलाई प्रतिबन्ध तोड्दै अमेरिका बोलाएपछि असन्तुष्ट एसएफजेले अदालतमा मुद्दा हालेको हो । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses