मृत्यु भएको मानिस घर फर्किएपछी घरमा नराख्न परिवारलाई गाउँलेको दबाब

गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो । परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेका छन् । सुस्तःमनस्थितिका भूपाल यसअघि भारत पुगेको बुझिएको छ । पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्ने विषय बन्दै गएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारले जनाएका छन् । भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताउनुभयो । मनमायाले भन्नुभयो – “कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।” भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses