पोखराको एउटा यस्तो क्याम्पस जहाँ छोरीभन्दा बुहारी बढी पढ्ने गर्छन
यहाँको धार्मिक एवम् पर्यटकीयस्थल छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि यस क्षेत्रका छोरीबुहारीको शिक्षा आर्जनको थलो बन्दै आएको छ ।
अध्ययन गर्ने इच्छा भएर पनि पायक पर्ने स्थानमा सुविधायुक्त क्याम्पस नभएर अलमलिएका उनीहरुका लागि पायक पर्ने स्थानमा क्याम्पस खुलेसँगै ज्ञान आर्जनको बाटो खुलेको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि यज्ञ भवनमा सञ्चालन गरेको सो क्याम्पसमा अहिले कुल विद्यार्थीको ८० प्रतिशत छोरीबुहारी रहेको क्याम्पस प्रमुख घनश्याम तिवारी बताउनुहुन्छ ।
उहाँका अनुसार शिक्षाशास्त्र र व्यवस्थापन विषयमा स्नातकतहका कक्षा सञ्चालन गरिएको यो क्याम्पसमा अहिले अध्ययनरत २६८ विद्यार्थीमध्ये २१८ जना छोरीबुहारी छन् । प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्य लिएको यो क्याम्पसमा पोखरा उपमहानगरपालिका विभिन्न वडासहित छिमेकी जिल्ला स्याङ्जा, पर्वत, तनहँु र लमजुङका विद्यार्थी भर्ना भएको क्याम्पसप्रमुख तिवारीले जानकारी दिनुभयो । बिहानी तथा दिवा दुबै सेवा सञ्चालन गर्दै आएको र प्रत्येक वर्ष विद्यार्थी भर्नादर क्रमिकरुपमा वृद्धि हुँदै आएको छ भने यहाँ छात्राको सङ्ख्या उल्लेख्य रहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी गुप्तेश्वर गुफा भवनको दोस्रो तल्लामा सञ्चालन हुँदै आएको सो क्याम्पस गुप्तेश्वर गुफा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टिकट बिक्रीबाट भएको आम्दानीले सञ्चालन हुँदै आएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोेतको आम्दानी शिक्षामा लगानी गरी समाजका विपन्न वर्गसम्म शिक्षाको पहुँच पु¥याउने उद्देश्यले दुबै सङ्कायको प्रत्येक तहबाट सर्वोत्कृष्ट अङ्क ल्याउने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।” छात्रवृत्ति प्राप्त गर्नेमा छात्राको सङ्ख्या नै बढी छ ।
अहिले पूर्ण र आंशिक गरी ३७ जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको छात्रवृत्तिको रकम एक लाख ७५ हजार १०० रहेको छ । क्याम्पसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गुफाले पर्यटकीयस्थल डेभिड फलको उत्तरी भेगमा लगभग तीन करोडभन्दा बढी मूल्यको पाँच रोपनी ६ आना जग्गा खरिद गरी क्याम्पस भवनको समेत निर्माण सुरु गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो । हाल निर्माणाधीन दुईतलाको आठकोठे भवन निर्माणका लागि गुफाले ९९ लाख ५६ हजार १३२ रकम खर्च गरिसकेको छ ।
उहाँका अनुसार क्याम्पसकै अभावमा पढाइ बीचमै रोक्न बाध्य यस क्षेत्रका विद्यार्थीको घरघरमा पुगेर भर्ना अभियान सुरु गर्ने गरिएको छ । पुम्दीभुम्दी, निर्मल पोखरी, कृष्तिनाच्ने चौर, भरतपोखरीको उपल्लो भेगमा घरघर पुगेर सञ्चालन गरिएको अभियानको फलस्वरुप १९ जना छात्रासहित ३६ जनामा विद्यार्थी भर्ना भएका थिए । ग्रामीण सडकमा पोखरा बस व्यवसायी समितिले बस सञ्चालन गरेपछि ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरबाटै स्नातक तहको शिक्षा आर्जन गर्न सुविधा पुगेको पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।
पोखरालगायत जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा हाल नगरमा २०० र ग्रामीण क्षेत्रमा २० वटा बसले सुविधा पु¥याउँदै आएको छ । दुई दशकदेखि प्रचारप्रसारमा आएको गुप्तेश्वर गुफा दृश्यावलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टिकट बिक्री गरी भएको आम्दानीको ५० प्रतिशत क्याम्पस सञ्चालनका लागि दिइने गरिन्छ ।
सो क्षेत्रमा रहेका प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरी डेभिड फलको आम्दानीबाट छोरेपाटन उच्चमावि र गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस सञ्चालन गर्दै आइएको भए पनि महत्वपूर्ण आम्दानीका स्रोतलाई दोहन मात्र नभई प्राकृतिक वरदानको संरक्षण, सम्बद्र्धन र विकासमा जोड दिनुपर्ने विज्ञहरुको धारणा छ । हाल क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ चारवर्षे बिबिएस र शिक्षाशास्त्र सङ्कायतर्फ चारवर्षे बिएड (अङ्ग्रेजी र नेपाली शिक्षा) सञ्चालन भइरहेका छन् ।
स्रोत : इ ताजा खबर . कम


0 comments
Write Down Your Responses