देउवा समूहको ठूलो षडयन्त्र गगनलाई बदनाम गर्न
१३ औं महाधिवेशन नजिकिदै जादा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा घात तथा प्रतिघात हुन थालेका छन् । नेताहरु नै एक अर्कालाई बदनाम गर्न कसरत गरिरहेका छन् ।
यसैक्रममा वरिष्ठ नेता शेरबहादुर देउवा लोकप्रिय युपा नेता गगन थापालाई बदनाम गराउन लागिपरेको समाचार पनि सार्वजनिक भएको छ । यस्तो समाचारको सार्वजनिक थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ का निवर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले गरेका हुन् ।
उनी वरिष्ठ नेता देउवा पक्षका नेतासँग भर्खरै सम्पन्न क्षेत्रीय सभापतिको निर्वाचनमा पराजित भएका थिए । पराजित भएपपिछ देउवा पक्षले थापा नै हारेको भनेर प्रचार गरी बदनाम गर्न खोजेको श्रेष्ठले आरोप लगाएका हुन् ।
यस्तो काठमाडौं क्षेत्र नम्बर ४ का निवर्तमान सभापति न्हुच्छेनारायण श्रेष्ठको प्रष्टोक्ति र आरोपः
नेपाली काँग्रेसको महाधिवेशनका क्रममा देशैभरीका संसदीय चुनाव क्षेत्रमा काँग्रेसको क्षेत्रीय समितिको चुनाव भयो । महाधिवेशनमा हुने पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धाका क्रममा काठमाडौं ४ मा पनि दुई पक्षबीच चुनाव भयो । एक पक्षबाट मैले उमेद्वारी दिए । मेरोतर्फबाट टीममा केहि साथीहरु प्रत्यासी थिए । अर्को टीमको तर्फबाट यसअघीको १२औं महाधिवेशनमा मसँग नै पराजित उमेद्वार राजु श्रेष्ठ मैदानमा थिए । १३ औं महाधिवेशनका लागि दुई टीम तल वडास्तरदेखि नै चुनावी प्रतिष्पर्धामा थियो । त्यसै अनुसार हामीहरु निर्वाचित हुँदै क्षेत्रीय अधिवेशनसम्म आइपुगेका थियौ । क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा पार्टीका स्थानिय नेताहरुको पार्टीका केन्द्रीय नेताहरुसँगको उठबसका आधारमा नाम जोडेर उनीहरुलाई यो पक्ष वा त्यो पक्ष भनेर जोड्ने प्रचलन छ । यो प्रचलनको विरोध गर्दा गर्दै पनि हामीहरुलाई स्वतन्त्र रुपमा काम गर्न नदिने गरि एउटा न एउटा नामको पगरी गुथाइदिने प्रचलन छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापा पनि यहि काठमाडौं ४ बाटै प्रतिनिधित्व गर्नुहुन्छ । संयोगले मेरै कार्यकालमा नेता थापालाई यस निर्वाचन क्षेत्रबाट सबैभन्दा धेरै मत अन्तरमा जिताएर संसद पुर्याउन हामी सफल भयौ मेरो नेतृत्व चयन हुने बेलामा नेता थापाले गर्नुभएको योगदान अहिले पनि स्मरणीय छ । मैले पनि संसदीय चुनावमा जे जति सहयोग गर्न सक्थे गरे । स्थानिय पार्टी पङतिलाई जति सक्थे परिचालित गरे ।
संसदीय वा अन्य चुनावमा झै नभएपनि पार्टीको आन्तरिक चुनाव नै सहि यहाँ पनि चुनाव अत्यन्तै लागेको थियो । चुनावको परिणाम सार्वजनिक भएपछिका हर्कतहरुलाई हेर्ने हो भने जीतको उन्माद साथीहरुमा धेरै नै देखिएको छ । चुनाव एकजनासँग लडिएको छ तर प्रचार अर्कै भएको छ । चुनाव मसँग लडिएको छ अनि सोही क्षेत्रबाट निर्वाचित सांसद एवं केन्द्रीय सदस्य थापालाई हराए भनेर प्रचार गराइन्छ । प्रचार गर्नेले पनि के प्रचार गरेका हुन् । काँग्रेसको विधान पढ्नुपनि छैन । निर्वाचित केन्द्रीय सदस्यले स्थानिय तथा क्षेत्रीय चुनावमा भाग लिनुपर्दैन र उनीहरु स्वतः महाधिवेशन प्रतिनिधी हुन्छन भनेर हेक्का नराख्दा उनीहरुले नियोजित रुपमा गराइएको हल्लाको हल्कारा मात्र बनेका छन् । हाम्रा सांसद थापा आफ्नै निर्वाचन क्षेत्रबाटै पार्टी अधिवेशनमा पराजित भए भन्ने हल्ला गराइयो । जुन कुरा सत्य हैन त्यो कुरा हल्ला गराएर कसलाई फाइदा र कसलाई घाटा लगाउने प्रपञ्च रचिएको हो यो घटनाबाट धेरै कुरा उजागर भएको छ ।
जसले तटस्थता नदेखिने डरले पार्टीको क्षेत्र नम्वर ४ को चुनावमा मत हालेनन् । जसले सक्रियतापूर्वक नलागी निरपेक्ष भएर क्षेत्रीय सम्मेलन पुरा गराउन सहयोगी बने । उनै नेता गगन थापालाई आफ्नै क्षेत्रमा चुनाव हारर््यो भनेर प्रचार गराइएछ । हामीलाई सो कुरा सुनेर अत्यन्तै दुःख लाग्यो । तर बिषयलाई नैतिकताको जामा लगाइदिएर सिर्जित दवावमार्फत गगनजीलाई रक्षात्मक बनाउने योजना यसअघी झै सफल हुदैन भन्नेमा हामी चाहिं ढुक्क छौं ।
मानौ गगनजी आफै चुनाव लडेको झै बनाएर प्रतिष्पर्धी साथीहरुले चुनावको बारेमा अभियान शुरु गरेका थिए । तर न गगनजी मेरो तर्फबाट चुनाव लड्नुभएको थियो । न मैले मसँग उठेका प्रतिष्पर्धी राजु श्रेष्ठलाई अर्कै काँग्रेसका नेताको छायाँको रुपमा बुझ्नु उपयुक्त हुन्थ्यो । मसँग उठ्नुभएका राजुजी शेर बहादुर देउवा र प्रकाशमान सिंहसँग जोडिएको बारेमा राजनीतिक क्षेत्रका अधिकांशलाई थाहा छ । यसको अर्थ मसँग चुनाव लड्न आएका साथीको केन्द्रीय जो नेतासँग नजिकको सम्वन्ध छ उसैसँग मेरो सोझो प्रतिष्पर्धा भयो भनेर भन्न मिल्छ ? मेरो सन्दर्भमा यस्तै भयो । चुनावमा मैले मेरो प्यानलको लागि मत मागे । क्षेत्रको नेताको हैसियतमा त्यस क्षेत्रको रणनीति बनाउन पनि लागे । सासंद गगन थापालाई पनि सहयोग गर्नुपर्ने कर्तव्य पनि छदै थियो । मैले आफू उमेद्वार भएपछि साथीहरुलाई समन्वय गर्दै गएको थिए । सासंद थापालाई पनि मैले सहयोगका लागि भने । उहाँले मेरो नैतिक समर्थन रहेको बताउनुभयो । क्षेत्रबाट उमेद्वार भएको जो भएपनि मेरा लागि बराबर भन्नभयो । मत हाल्न आउनुभएन ।
तर संयोग यस्तो भयोकी अघिल्लोपटक मैले नै हराएको उमेद्वारले मलाई नै ४ मतले हराए । म संस्थापन पक्षको उमेद्वार भए । राजुजी देउवा पक्षबाट उमेद्वार भए । संस्थापन पक्षबाट अर्का एक जना साथी पनि उमेद्वार भए । हामीहरु दुई जना उमेद्वार भयौ । उनले पनि ८ मत ल्याए । हाम्रो मत बाँडियो । मैले ५० मत ल्याए । राजुजीले ५४ मत ल्याएर सभापति जिते । कार्यसमितिमा क्षेत्रीय अध्यक्ष बाहेक सबै पदमा मैले भने अनुसार नै आयो । महाधिवेशन प्रतिनिधीमा क्षेत्रीय सभापति सहित १२ जनामा हाम्रो पक्षका ८ जना आए । मैले भनेका सबै आए । मैले मत मागेका सबैले जीते । तर मैले मात्र झीनो मतले हारे । तर, यत्रो ठूलो हल्ला गरिएछकी मैले चुनाव हारेको बिषयलाई गगनजीसँग जोडेर दुष्प्रचार गरिएछ । जुन कुराको केहि सत्यता थिएन त्यहि कुरालाई मिथ्या प्रचार गरियो ।
साथीहरुले किन त्यस्तो गरेका हुन उनै जानुन । मैले के मात्र जान्दछु भने पार्टीको क्षेत्र नम्वर ४ को चुनावमा जसरी मेरो प्रतिष्पर्धा शेर बहादुर देउवासँग थिएन त्यसैगरि जित्ने राजुजीको प्रतिष्पर्धा गगन थापासँग थिएन । मसँग लड्न आउने राजुजीको प्रतिष्पर्धा मैसँग थियो । गगनजीसँग जोड्नु भनेको आफ्नो उचाइ बढाउन खोज्नुमात्र हो । बरु म उहाँको जीतलाई अंगिकार गर्दै उहाँलाई सफल बनाउन लागिपर्छु । उहाँले पनि जीतको अहंकार नदेखाइ काम गर्न सक्नुभयो भने आगामी दिनमा पार्टीलाई नै हामीहरु मिलेर फाइदा पुर्याउन सक्छौ । स्थानिय निकायको चुनाव अब सम्मुखमा छ । अबको हाम्रो ध्यान त्यसतर्फ हुनुपर्छ । गुटगत राजनीति नगरि निष्पक्ष रुपमा जानुपर्छ भनेर मैले नवनिर्वाचित क्षेत्रीय सभापतिलाई भन्ने यहि नै हो । मेरो अनुभवलाई स्थानिय निकायको काममा लगाएर पार्टीलाई फाइदा पुर्याउने गरि लाग्न चाहन्छु ।
स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses