लक्ष्मी घलान भन्छिन यो समाजको तिरस्कार, घृणा र चोट कति सहेको छु
लक्ष्मी घलान भन्छिन यो समाजको तिरस्कार, घृणा र चोट कति सहेको छु । त्यो त अचानोको चोट खुकुरीले कसरी थाहा पाओस् । स्त्री जातिको अंग÷प्रत्यंग लिएर जन्मिएँ तर जिन्दगीको उकालीसँगै बढ्दै जाँदा मैले आफूलाई प्राकृतिक रुपमै पुरुष पहिचान बोकेर हिँडेको पाएँ । यो मेरो दोष थिएन, तर समाजले मलाई दोष दिइरह्यो । धेरै पछि मात्र बोध भयो कि म खासमा पुरुष रहेछु । मेरो जीन्दगी यसरी नै बहकिन खोज्दो रहेछ । वास्तवमा मलाई सानैमा बावुले व्वाइज कट हेयर स्टाइल बनाइदिनु हुन्थ्यो । म आफैं पनि घाँगर लाउन छोडेर हाफ प्यान्ट लगाउँथे । चिटिक्क ब्वाइज कट मेरो हेयर स्टाइल हो । मलाई विहे गरेर पराई घर जान मन लागेन । मलाई बाल बच्चा जन्माएर आमा बन्न मन लागेन । बरु मैले आदर्श पिता हुन चाहें । अरु पुरुषले जस्तै विहे गरेर श्रीमती ल्याउने इच्छा बढ्यो, अनि अरुले जस्तै कोट, पाइन्ट, ढाका टोपी सजाएर ससुराली जाने रहर जाग्यो । तर सपना पुरा हुन सकेको छैन आजसम्म । स्कुले जीवन धेरै स्मरणीय छ । जुन बेला मैले जीवनको लामो समयकाल बिताएको छु । त्यहीं पहिलो पटक अर्को कक्षाको केटीलाई लभ लेटर लेखेको थिएँ । उनको र मेरो लामो समय अफयेर चल्यो । हामीले धेरै सपनाहरु बुन्यौं । धेरै ठाउँहरु डेटिङ स्पट बने । त्यतिबेला खुलेर भेट्न पाउँदैनथ्यौं । भेटघाट हुन्थ्यो, हक गरिन्थ्यो, तर त्यस्तो अरु केही हुँदैनथ्यो । परिवारले त बुझेन, के बुझ्छ समाजले ? घरकी जेठी छोरी हुँ । मेरा २ जना भाइ र एक जना बहिनी छन् । परिवारमा विरोध÷दवाबका वीच नै मेरो जीवनचर्या चल्थ्यो । पुरै गेटअप केटाको रुपमा हिँडिदिन्थें । उनी लगायत अरु सँग भाँडकुटी खेल्दा बुढा (लोग्ने) बन्न मन लाग्थ्यो, कमाएर ल्याउँछु/पाल्छु भन्थें । पछि उनको परिवारले मेरो बारेमा फरक तरिकाले बतायो अनि आफैं तिनी छुटिन्, सँगत तोडियो । म अलि जंकी स्वभावको थिएँ । जसरी समाजमा अरुहरुका छोराहरु हिँड्थे त्यसरी नै हिँडिदिन्थें । जसरी उनीहरु स्वतन्त्र हुन्थें म पनि त्यसरी नै हुन चाहन्थें तर परिवारले तँ छोरी होस्, तैले फ्रक/घाँगर लगाउनु पर्दछ भन्यो । त्यसै अनुसार दवाव पनि आए । जति उमेर बढ्दै थियो मैले मानसिक दवाव बढि नै झेल्दै रहें । तर कहिले बुझेनन/बुझ्न सकेनन् मेरो प्राकृतिक चाहना, मेरो संवेदना, कसरी बुझुन् ति विचरा बावुआमाले ?स्त्रीप्रति नै आसक्ति मलाई थाहा थिएन, मेरो सक्कली परिचय । अरुले भन्थे- यो केटी भएर किन केटाको हाउभाउ गर्छे ? किन हामी केटीहरुसँग हिड्न चाहन्न, केटा बनेर हिँड्छे, केटी देखेर मोहित हुन्छे ? हो, मेरो खुशी रहर भित्रैदेखि पुरुष रहर थियो केटा भएर हिँड्नु थियो । मैले भाडाँकुटी खेल्दा पनि बुढा भएर खेलें, विहे गरेर दुलही ल्याएँ । खै किन केटीहरुसँग आकर्षित भएँ/हुन्थें । समाजले पढेनन् मेरो प्राकृतिक व्यवहार किन ? मलाई विहे गरेर पराई घर जान मन लागेन । मलाई बाल बच्चा जन्माएर आमा बन्न मन लागेन । बरु मैले आदर्श पिता हुन चाहें । अरु पुरुषले जस्तै विहे गरेर श्रीमती ल्याउने इच्छा बढ्यो, अनि अरुले जस्तै कोट, पाइन्ट, ढाका टोपी सजाएर ससुराली जाने रहर जाग्यो । तर सपना पुरा हुन सकेको छैन आजसम्म । कुनै केटीले मुसुक्क हाँसेको साह्रै राम्रो लाग्छ । उसले मिलाएर लाएको रेशमी कुर्ता सलवार चिटिक्क परेको गाजली आँखाले मलाई मोहित पार्छ । कसैलाई मन प¥यो भने प्रपोज गर्न मन लाग्छ । सिधै केटीलाई आइ लभ यु भन्न मन लाग्छ । उसको नारी शुलभ शारिरीक बनावट बारुले खिरिक्क परेको कम्मर जसरी अरु केटालाई मन पर्छ मलाइ पनि मन पर्छ । कुनै केटीसँग दिनभरि मौन मौजी डेटिङ जान मन लाग्छ । मुभि हेर्न मन लाग्छ । याद आएपछि मिस कल हान्न मन लाग्छ । चाहानालाई मार्न सकिँदैन र म पनि सक्दिन । यो मेरो उमेरसँगै बढ्दै आएको रहर थियो । बिहेको कुराले हाँसो उठ्छ साथीसँगी बिहे गरेर घरजम गरे । घरमा मेरो पनि विहेको कुरा भइरहन्थ्यो । मलाई भने हाँसो उठ्थ्यो । बरु मै विहे गरेर ४÷५ जना बुहारी ल्याइदिन्छु भन्थें । परिवारमा मैले धेरै दवाव खेपेको छु । एक पटक केटा हेर्न आयो, उसले मन परायो तर मैले मानिन किनकी मलाई पुरुषप्रति कुनै आकर्षण थिएन । रहर थिएन । विवादका बीच वुवाले ढलोटको अम्खोराले हिर्काउनु भएको छ । लाउने लुगामा त त्यस्तो केही भएन तर आफन्तले चाहीं छोरीलाई छाडा नछोड भन्थ्ये । तह लगा भन्थे । लवाइ खुवाइ परिवर्तन गर्न परिवारलाई नै दबाब आउँथ्यो । हो, यो समाजले नै दिएको ज्ञान थियो । काठमाडौं छिरे पछिको कहानी निकै बलजफ्ती काठमाडौं छिरें, एक जना दिदीकोमा बस्ने गरी । परिवारले मलाई छोरीको रुपमा मात्र बुझेको थियो । छोरी मान्छे आफुखुशी कहीँ जान मिल्दैनथ्यो । यहाँ मान्छे मान्छे विचको कोलाहलमा धेरै समय निसास्सिएँ । यहीं आएपछि पूर्ण रुपमा मैले आफूलाई समलिंगी रहेछु भन्ने चाल पाएँ । ब्लु डाइमण्ड संस्थाको नजिक रहेर धेरै कुरा बुझें । केटी मान्छे केटीसँग आकर्षित हुनु भनेको मानसिक रोग हो भन्थे डाक्टरले समेत । तर यो प्राकृतिक कुरा रहेछ । कति अज्ञानतामा उपचार गर्छौं हामी । तपाईं बुझ्नुस हाम्रो समाजमा लोग्ने–स्वास्नी झगडा हिंसा वितृष्णा यदि छ भने अन्य कारण मध्ये कुनै एक जना समलिंगि हुनुका कारण पनि हुन सक्छ । यहाँ अध्ययन कसले गर्ने ? हुन त नेपालीमा पनि सुनगाभा फिल्ममा इश्यु नआएको होइन तर त्यो केटी–केटी बीचको प्रेम मात्र हो । कयौं महिला बाध्यताले पुरुषसँग बस्नु परेको छ । छोरा छोरी जन्माइदिनु परेको छ । समाजका कारण खुल्न सकेका छैनन् । म र म जस्तै धेरै व्यक्तिलाई यही पीर हुन्छ जीवनका अन्तिम हरफहरुमा कसरी जीउने ? समाज परिवारको पनि नराम्रो होइन्छ राज्यले त्यस्तो कुनै व्यवस्था गरेको हुँदैन । आज म र म जस्तै व्यक्तिको न्याय र मुक्ति, पहिचान अनि यौनिक स्वतन्त्रताका लागि मितेरी नेपाल नामक संस्थाअन्तर्गत क्रियाशील छु । हाम्रो संस्थाको आँकडामा ४ हजार ५ सय बढी समलिंगीहरु सम्पर्कमा छन् । यो संस्थामा छु १० वर्ष भयो । लैंगिक यौनिकताको हक उठाउँदै आएको छु । कोठा समेत पाइएन मेरो जीवनको रंग यही सहरले देखाएको हो । मेरो परिचय यही शहरमा पाएँ÷खुलेर हिँड्न सक्ने भएँ । तर यो राज्य मेरो घरबार होस् भन्दैन किन ? जव आफ्नो प्रकृतिक पहिचान थाहा पाए त्यसरी नै हिँडें तर केटी मान्छेलाई एक्लै कोठा भाडा नदिने रहेछन् यो शहरका घरबेटी । झन् समलिंगी भनेर चाल पाउँदा कुरै अर्कै । कतै मेरा छोराछोरीलाई नै विगार्ने हो की ? समलिंगी बनाउने हो की भन्ने बुझ्दा रहेछन् । समलिंगी भनेर खुला समाजमा हिँड्दा न जागिर पाउन सकिने न वरपरकाले राम्रो नजरले हेर्ने ? हामीलाई बाँच्न साह्रै गाह्रो रहेछ । गणतन्त्र आयो, खै त अधिकार ? नेपालमा लिभिङ टुगेदरका रुपमा रहन पाउने कानुन त बन्यो तर अझै हामीलाई आफ्नो पहिचान अपुरो छ । हामी मन लागेको स्त्रीसँग विहे गरेर घरजम गर्न चाहान्छौं । हाम्रो विहे दर्ता हुनु पर्दछ । यो राज्यसँग यही माग छ मेरो पनि । बेलायतमा १५ वर्षअघि समलिंगीलाई सवै अधिकार दियो, तर पछि केही विषयमा रोक लगाइयो । त्यस्तै अमेरिका, अष्टे«लिया, न्युजिल्याण्डमा समलिंगी विवाह हुन सक्छ । लोकतान्त्रिक गणतन्त्र नेपाल प्रजातन्त्र र विश्वको नमुना भनिएको देश किन हाम्रो कुरा संविधानमा लागु गर्न सक्दैन । किन लैंगिक यौनिकताको विषयमा कठोर भएको हो ? हो हाम्रो अर्गान महिला नै हो मासिक धर्म पनि हुन्छ । हामीले कुनै पूरुष या महिलालाई घृणा गरेको पनि होइन । किन हामीलाई हेयको नजरले हेर्छन समाज र राज्य नै । हामी पनि मान्छे न हौं । के प्राकृतिक रुपमा सिर्जित लैगिक यौनिकताको स्वतन्त्रतामा हामीले बाँच्न पाउँदैनौं ? प्रस्तुतिः हरि गजुरेल


0 comments
Write Down Your Responses