'कहाँ छिन् हाम्री आमा ?'
'कहाँ छिन् हाम्री आमा ?'
त्यस दिन आमा बिहानै निक्लनुभएको थियो । भन्नुहुन्थ्यो, पैसा लिएरै र्फकन्छु । बानेश्वरकी निक्की भन्ने सुरक्षा सिंहसँग उहाँको लेनदेन थियो । लामो समयदेखि सापटी दिएको पैसा निक्कीले फर्काएकी थिइनन् । आमा त्यही लिन जानुभएको थियो । तर न पैसा आयो, न आमा नै घर फर्किनुभयो । माघ १६ गते बिहान घरबाट हिँडेपछि सय दिन बिते, हामीले सबैतिर खोज्यौं । अहँ, आमा भेटिनु भएन ।
आमाको खोजीमा भ्याएजति संघसंस्था धाएका धायै छौं । जनसेवा प्रहरी प्रभागका इन्स्पेक्टर हेमकुमार थापादेखि प्रधानमन्त्री बाबुराम भट्टराईसम्मलाई भेटिसक्यौं । र, पनि कसैले चासो दिएका छैनन् । हामीलाई पैसा होइन, आमा चाहियो । उहाँ कुन अवस्थामा हुनुहुन्छ, जान्ने हक हामीलाई छ । राज्यबाट यति सानो सहयोग पनि पाइएन । पहिलो पटक थाहा भयो, हामीलाई सरकारले नहेर्ने रहेछ ।
आमा रहस्यमय तरिकाले हराउनुभएको छ । उहाँलाई सामान्य लेखपढ गर्न आए पनि अंग्रेजी अक्षर चिन्नु हुन्न । तर त्यस दिन राति ८ बजे मेरो मोबाइलमा रोमनमा 'म मनकामनामा छु, साथी पनि छ, पर्सि आउँछु' भन्ने म्यासेज उहाँको मोबाइलबाट आयो । एबीसीडी नचिन्ने मेरी आमाले यो म्यासेज कसरी पठाइन् ?
त्यसमाथि आमाको मोबाइलको डिस्प्ले बिगि्रएको थियो, यस्तोमा एसएमएस टाइप गर्न सकिने कुरै भएन । फेरि दिउँसो उहाँको मोबाइल स्विच अफ थियो ।
त्यसै रात हामीले जनसेवा प्रहरी प्रभागलाई जानकारी गरायौं । भोलिपल्ट जनसेवाले काठमाडौं प्रहरीमा पठायो । त्यहाँ डीएसपी आभूषण तिम्सिनाले हाम्रो फाइल हेरे । उनले दुई हप्तासम्म बाहिर समाचार नदिन सुझाए । हामीले पनि आमाको जीउको सुरक्षाका लागि त्यसै गर्यौं । तर दुई दिनमै उनी त बिदामा बसेछन् । ११ दिनसम्म त्यत्तिकै झुलाए । थप अनुसन्धानका लागि फाइल अपराध महाशाखामा पुग्यो । त्यहाँ डीएसपी रवीन्द्र धानुक र इन्स्पेक्टर अर्जुन केसीले हेरे । उनीहरूले अनुसन्धानको एक महिनापछि निक्की सिंहकै संलग्नता भएको भन्दै किटानी जाहेरी दिन लगाए । हामीले उनको सल्लाह मानेर काठमाडौं प्रहरीमा किटानी दियौं । तर काठमाडौं प्रहरीले हाम्रो जाहेरी दर्ता गर्न मानेन । प्रहरी प्रमुख तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले किटानी जाहेरी नदेऊ भने । उनले उल्टै निर्दोष मान्छे फस्यो भने तिमीहरूविरुद्ध पनि उजुरी पर्न सक्छ पो भने ।
हराएको डेढ महिना बित्न लाग्दासमेत केही खबर नपाएपछि हामीले बाध्य भएर स्थानीय र नातेदारहरूसँग गएर काठमाडौं प्रहरी कार्यालय घेराउ गर्यौं । दबाब बढ्दै गएपछि भने उनीहरूले निक्कीलाई पक्राउ गरे । त्यसपछि मात्र प्रहरीले मुद्दा दर्ता गर्यो । शान्तिपूर्ण रूपमा धैर्यताका साथ भनेको कुरा त कसैले नसुन्ने रहेछ यो देशमा ।
आमाको स्थितिका बारेमा प्रहरी कार्यालय धाउनु हाम्रो दैनिकीजस्तो बनिसकेको थियो । बिहानदेखि गएर बस्दा पनि कसैले केही भन्दैन । सोध्दा उल्टै हामीलाई नै गाली गरेर पठाउँथे । 'कति किच किच गर्न आएको ?' उनीहरू भन्थे, 'तिमीहरूको काम छैन ? हेर्छौं भनेपछि त हेर्छौं नि !'
तिनलाई सायद थाहा छैन, आमा गुमाउँदा कति पीडा हुन्छ !
प्रहरीबाट सहयोग नपाएपछि हामीहरू प्रधानमन्त्रीलगायत ब्यक्तिलाई भेट्न गयौं । उनीहरूलाई भेटेर आएपछि त प्रहरी झन् नकारात्मक बन्यो । 'तपाईंहरू जहाँ गए पनि केही हुनेवाला छैन, पचासतिर किन दौडिएको ? अनुसन्धान गर्ने हामीहरू नै हो' भन्दै गाली गरे ।
आमाको खोजीका लागि हामीले प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्री पत्नी हिसिला यमी, प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेल, आयुक्तको कार्यालयका प्रमुख एआईजी कुबेरसिंह राना, नेपाल प्रहरीकी डीआईजी विमला थापालगायत काठमाडौं प्रहरी प्रमुख, अपराध महाशाखा प्रमुख सबैलाई भेटिसक्यौं । पहिलोपल्ट भेट्दा सबैले चासो दिएजसो गरे । तल्ला निकायलाई भन्ने र आमालाई पत्ता लगाउने आश्वासन मात्र दिए, चासो दिएनन् ।
हिसिला यमीले त छुट्टै छानबिन समिति बनाइदिने आश्वासन पनि दिएकी थिइन् । अहिले त फोन नै उठाउँदिनन् ।
निक्की र आमाको पहिलादेखि कै चिनजान हो । आमाले बनाउने सिरक सिरानीका खोल, झोला, सोफाका खोललगायत सामान निक्कीले बिक्री गरिदिने गर्थिन् । आमाको डायरीमा निक्कीले ५५ लाख रुपैयाँ लगेको लेखेको थियो । उनी अहिले त्यो आफूले नलगेको भन्छिन् । पैसा लगेको प्रमाण देखाएपछि भने उनले ५ लाख मात्र लगेको भनेर दाबी गरिन् ।
सुरुमा आमालाई चिन्नै अस्वीकार गरेकी उनले पछि भने आमामाथि अनेक लाञ्छना लगाइन् । ५१ वर्षकी मेरी आमा अर्कै केटासँग भाग्नु भयो अरे । मुस्लिम केटोसँग आमा निक्कीको घरमा जानु भएको थियो अरे । जुन कुरा सरासर गलत हो । बिना कुनै सबुत मेरी आमामाथि यस्तो आरोप लगाउँदा प्रहरीले निक्कीसँग सबुत मागेन । उल्टो उनको कुरो पत्याएर आमाका बारेमा अनेक कुरा गरे । नातिनातिना भइसकेकी आमा त्यसरी कतै जान सक्ने कल्पनासमेत हामी गर्न सक्तैनौं ।
जिल्ला अदालत काठमाडौंले वैशाख २४ गते निक्की सिंहलाई १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्यो । निक्की पक्राउ परेर छुटिसकिन् । तर अझै आमाको केही खबर छैन । आमा बेपत्ता हुनुको पछाडि सुरक्षा सिंहको नै हात छ भन्ने हाम्रो किटानी हो । अहिले आमाको खोजीका लागि हामीले टोलटोलमा हस्ताक्षर क्याम्पियन चलाइरहेका छौं । एक लाख मान्छेको हस्ताक्षर संकलन गरेर हामी राष्ट्रपतिलाई बुझाउने तयारीमा छौं । हामीले बेपत्ता भएकी हाम्री आमा खोज्या हो । अरू केही होइन । स्रोत : बुटवल-पाल्पा न्युज'


0 comments
Write Down Your Responses