‘यो उमेरमा के को हनीमुन ?’

ललितचन्द्र चौधरी, एउटा सामान्य परिवारका व्यक्ति हुन् । उनको खासै ठूलो परिचय छैन । सामान्य जीवनयापन गर्ने चौधरीका तीन छोराछोरी छन् । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित फल्कापुर स्थायी घर भएका चौधरी नेपाली सेनाका पुराना जागिरे हुन् । देउखुरीको बनगाउँस्थित विद्यालयमा पढ्दा उनलाई एउटी युवती मन पर्थ्यो । ती युवतीको बोल्ने क्षमता, हाउभाउ र क्रियाकलापबाट प्रभावित चौधरीले आफ्ना मनका कुरा भने भन्न सकेका थिएनन् । एक दिन उनले हिम्मत गरेर एउटा चिठी लेखेछन् । चिठीमा चौधरीले ‘आइलभ यू’का साथै केही अरु मीठा शब्द पनि कोरेका रहेछन् । चिठी लेखेपनि दिने हिम्मत भने उनीमा आएन छ । बरु कक्षा कोठामा विद्यार्थी नभएको बेला ती मन पर्ने युवतीको कितावमा चिठी राखेर टाप कसेका रहेछन् । अहिले त्यो स्मरण सनाउँदा चौधरीमा मीठासको आभाष देखिन्थ्यो । उनले आइलभ यू भनेकी ती युवती अहिले उनकै अर्धाङ्गिनी छिन् । र तीन छोराछोरी पनि जन्माइदिएकी छिन् । त्यति मात्रै कहाँ हो र ? दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा निर्वाचित भएर संविधानसभा र संसदमा प्रवेश पाएकी छिन् । ती हुन् कांग्रेस सांसद तथा केन्द्रीय सदस्य पार्वती डिसी चौधरी । २०४४ सालदेखिको यो जोडीको मायाप्रेममा कमी आएको छैन । बरु यो जोडीलाई आजकाल सँगै अलि बाक्लै देखिन थालिएको छ । चौधरीले नै पार्वतीसँग विवाहको प्रस्ताव राखेका हुन् । ‘उनी मलाई मन पर्थ्यो’, चौधरीले भने, ‘म बोल्न नसक्ने । पहिला त चिठी पठाएको हुँ । पछि विहे गरौँ भनेर प्रस्ताव राखे ।’ चौधरीको विहे प्रस्ताव आएपछि अकमकाएकी पार्वती पनि के कम हुन्छ भनिदिएछिन् । यी दुईबीच केही समय खुब प्रेचचक्कर पनि चल्यो । अन्तमा दुबैको विहे पनि भयो । अन्तरजातीय विहे भनेर दुवैको परिवारबाट हस्तक्षेप पनि भएको थियो । तर पछि दुबै परिवारले स्वीकार गरेको भनाइ चौधरीको छ । विहे भएको यति धेरै वर्ष भइसक्दा पनि यो जोडी हनीमुन मनाउन कुनै राम्रो शहर वा स्थानमा भने गएको रहेनछ । विहेपछि हनीमुन मनाउन कतै जानु भो ? भन्ने प्रश्नमा चौधरीले भने, ‘कहाँ जानु गएको छैन ।’ रहर छ कि छैन भन्ने जिज्ञासामा उनले लजाउँदै भने, ‘यो उमेरमा के को हनीमुन ?’ उनले फेरि भने, ‘अब त छोराछोरीको विहे गर्ने बेला भइसक्यो ।’ कहिले काहीँ यो जोडीमा पनि सामान्य ठाकठुक पर्दो रहेछ । तर केही समयभित्रै कुरा मिलाउने गरेको चौधरीले बताए । चौधरीलाई तिते करेला र मासु मन पर्दो रहेछ । पत्नी पार्वतीले पनि पतिको यो चाहनालाई पूराइ दिने गरेको उनले बताए । तर चौधरीले आफ्नी पत्नी पार्वती र छोराछोरीलाई लिएर एक पटक महेन्द्रनगर भने गएका रहेछन् । उनले अहिलेसम्म स–परिवार घुमेको भनेको त्यही एक पटक मात्रै रहेछ । पत्नी सांसद भएपछि राजनीतिक व्यस्तताले झन् घुम्ने फुर्सदै नहुने गरेको उनले सुनाए । ‘मैले मेरो पत्नीलाई सहयोग गर्नुपर्छ’, चौधरीले भने, ‘उ राष्ट्रिय राजनीतिमा लागेकाले परिवारको सहयोग अनिर्वाय छ । मैले सहयोग नगरे अरु कसले गर्छ ?’ पत्नी सांसद र कांग्रेसको केन्द्रीय सदस्य दुबै पदमा निर्वाचन भएकोमा चौधरीलाई गर्व छ । बरु चौधरीले आफ्नी पत्नीलाई भ्रष्टाचार र राजनीतिक बेइमानी नगर्न सुझाव दिइरहँदा रहेछन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रहेको क्यान्टिनको कालो कुर्सीमा बसेर चिया पिइरहेका उनले अहिले पनि आफूमा घमण्ड प्रवेश गर्न दिएका छैनन् । अहिले पनि चौधरीमा उही सालिनता र नम्र स्वभाव तथा मिलनसार व्यक्तित्व कायम छ । उनलाई गुनासो यत्ति मात्रै छ कि, मुलुकमा नयाँ संविधान बनिसक्दा पनि केही समूह र दलहरूले आन्दोलन गरिरहेकोमा चित्त बुझेको रहेनछ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses