विधवा महिला मानिस नै होइनन् ?शान्ता चौधरीको प्रश्न

विवाह पञ्चमीमा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा गएपछि मधेसी मोर्चाका केही उदण्ड कार्यकर्ताले जनकी मन्दिरमा विधवा प्रवेश गरेर अपवित्र भएको भन्दै गंगाजल छर्केपछि त्यसको सर्वत्र विरोध भएको छ । त्यसको विरोधमा महिला अधिकारकर्मीहरुले धर्ना र विरोधका कार्यक्रम नै गरेका छन् । भ्रातृ संगठन अनेम संघले पनि त्यसको विरोध गरेको छ । महिला अधिकारकर्मी तथा एमाले नेतृ शान्ता चौधरीले पनि त्यसको विरोध गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत विरोध गरेकी छिन् । उनले आन्दोलन गर्दा हातमा ढुंगा, लाठी र मुखमा जिब्रो छ भन्दैमा मनपरि गर्न र जथाभावी बोल्न पाईंदैन भन्दै विरोध गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेको भनाई जस्ताको तस्तैः हे माता जानकी ! जीवनमा यति अपमानजनक कार्यको विरोधमा कहिल्यै धर्ना बस्न र विरोध गर्न नपरोस् भनी कामना गर्दछु । आज कति दुखपूर्ण विषयमा धर्ना बस्न परयो, आफैलाई लज्जाबोध भइरहेको छ । विवाह पञ्चमीमा जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बम प्रहार गरियो, ढुंगामुडा प्रहार गरियो । यो निन्दनीय थियो, धार्मिक स्थलमा विरोध गर्नु, हिंसात्मक व्यवहार गर्नु कुनै हालतमा क्षम्य हुन सक्दैन । त्यसपछिका घृणित घटनाहरुले विश्व सामु नेपाली लज्जित हुनुपरेको छ । विवाहपञ्चमीको दिनको घटनालाई हामी नेपाली बिर्सन चाहन्थ्यौं । घटनाका जिम्मेवारहरुले त्यसमा क्षमा माग्लान् भन्ने विश्वाश थियो तर त्यसपछि सोही घटनालाई आधार बनाएर महिला माथि नै अपमान गर्ने काम गरियो । विधवा महिला मानिस नै होइनन् भन्ने ढंगले मधेस आन्दोलनका कतिपय पक्ष तथा कतिपय आन्दोलनकारीले व्यवहार गरेका छन् । विधवा महिलाको अस्तित्वमा नै प्रश्न उठाउने ढंगले अठारौं शदीको व्यवहार गरिएको छ । एक्काइसौं सदीको नेपालमा विधवा महिलाको अस्तित्वमा प्रश्न गर्नु लाजमर्दो घटना हो । यो घटनाका दोषीहरुलाई सरकारले कारबाही गर्नुपर्छ । यो घटनाको जिम्मेवारी लिएर सम्बन्धित राजनीतिक दलहरुले जनता समक्ष माफी माग्नुपर्छ । राजनीतिक आन्दोलनको बहानामा समस्त महिलामाथि नै प्रहार गर्नु अपराध हो । यस्तो सामाजिक अपराधको बाटो आन्दोलनकारी दल र त्यसको नेतृत्व वर्गले त्याग्नुपर्छ । उनीहरुले सामाजिक मर्यादाको ख्याल गर्नुपर्छ । आन्दोलन गर्दा हातमा ढुंगालाठी र मुखमा जिब्रो छ भन्दैमा मनपरि गर्न र जथाभावी बोल्न पाईंदैन । नेपाली महिलाको अपमान, देशकै अपमान, मिथिला संस्कृतिको अपमान र माता जानकीको अपमान हुने यो घटनाको विरोधमा आज अनेमसंघले काठमाडौंमा गरेको धर्नामा सहभागी हुँदा असाध्यै दुख लाग्यो । जीवन धर्ना र आन्दोलनमै बिताइयो, यति घृणित कार्यको विरोधमा समेत धर्ना बस्न परयो । धर्ना अवधी भरि उदास भएँ म । स्रोत : http://www.nepalese.org/article/2015/12/19/38723/

0 comments

Write Down Your Responses