बेचिएकी मीनाको यस्तो दर्दनाक कथा

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन्, मीना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाबु फर्केका थिएनन् । तीन बहिनीमुनि जन्मिएको भाइ पनि स्कुल जान सक्ने भएको थियो । मीनाकी आमालाई दिनभरि काम गर्थिन्– साहुको मेला, पानीपँधेरो, दाउराघाँस । भरे घर फर्कंदा पनि पानी बोकेर फर्कन्थिन् । डोकोमा बोकेको तामाको गाग्रीबाट उकाली–ओरालीमा पानी छछल्किन्थ्यो । उनको ढाकाको चोली र गुन्यू भिजेका हुन्थे । आमा फर्कंदा मीनाका भाइबहिनी आमाको बाटो हेर्दाहेर्दै भोकै निदाइसकेका हुन्थे । साहुको मेलामा खान दिएको अर्नी सबैका आँखा छलेर पटुकीमा लुकाएर ल्याउने गर्थिन्, मीनाकी आमा । केही घर बारी थियो, मुस्किलले ६ महिना खान पुग्थ्यो । बाबुको कुनै खबर थिएन, न त पैसा नै आउँथ्यो । स–साना भाइबहिनीको जिम्मेवारी मीनाको काँधमा पनि आउँदै थियो । उनी भर्खर १६औँ वसन्त पार गरेकी भए पनि गरिबी र जिम्मेवारीको बोझले एक परिपक्व छोरी मान्छेको अवस्थामा पुर्याएको थियो । जसोतसो ५ कक्षा उत्तीर्ण भएकी हुँदा भाइ–बहिनीलाई कखरा चिनाउन सजिलो पनि भएको थियो, मीनालई । कसरी दुई–चार पैसा कमाउ र आमा र भाइबहिनीलाई पेटभरि खुवाउन सकिएला भनेर सोची रहन्थिन् । यसै क्रममा पल्लो गाउँमा एकजना लाहुरे आएको खबर सुनिन् । कतै आफ्नो बाउको कुनै खबर पो पाइन्छ कि भनेर मनभरि आशाको दियो बाल्दै सोध्न पुगिन् । कहिलेकाहीँ मुजुरा (नाँच–गान) गर्न जाँदा चिनेको मुखिया बाजेको छोरा पो आएको रहेछ । बाउको खबर त थिएन तर लाहुरबाट ल्याएको मीठामीठा खानेकुरा र मरमसला भने मुखिनी बजैले सुटुक्क लुकाएर मीनाको हातमा थमाइदिइन् । घरमा बोलाउने नाम बिर्खे भए पनि लाहुर गएपछि आफ्नो नाम विश्वास राखेको रैछ, मुखियाको छोराले । गोरो बाटुलो बान्की परेको अनुहार, दुवै गालाका पाटा रगत चुहिएलाजस्तै राताराता थिए । ठूलाठूला आँखा, अनारझैँ मिलेका दाँतका पंक्तिहरू, पुस्ट छाती हर्लक्कै बढेको जवानी साँच्चै मीना स्वर्गकी परीजस्तै देखिन्थिन् । बिर्खेको आँखा फक्रँदै गरेको मीनाको यौवनमा गएर टक्क अडिए । सर्लक्क परेको शरीर अग्लो राम्रो देखिन्थ्यो, बिर्खे पनि लाहुरे जो पर्यो, के कम ऊ पनि । लाहुरतिरका रमाइला कुराहरू सुनाउँदै मीनाको मन जित्न थाल्यो । केही बातचित सकिएपछि मीना आफ्नो घरतर्फ लागिन् । बिर्खे र मीनाको भेटघाटको क्रम बढ्न थाल्यो, उनीहरू एक आपसमा नजिकिँदै गए । बिर्खेले इन्डियाबारे रमाइला कुरा गर्दा मीना अचम्म मानेर सुन्न थालिन्, विकट गाउँमा जन्मेकी मीना मोटरगाडी बिजुली ठुल्ठुला महल भनेको कस्तो हुन्छ, उनलाई पत्तै थिएन । बिर्खेले पनि मीठामीठा सपना देखाउँदै मीनाको मन जित्दै गयो, यता गरिबीको चपेटामा च्यापिएर बस्दाको उकुसमुकुस जिन्दगी थियो भने, उता लाहुरमा राम्रो लाउन मीठो खाना पाउने आश देखाएर आफ्नो प्रेमजालमा मीनालाई फसाउँदै गयो । लाहुर गएर मीनालाई राम्रो नोकरी लगाइदिने र उनका भाइबहिनी अलि ठूला भएपछि मात्र बिहे गर्ने विश्वास दिलायो । मीनाले पनि इन्कार गर्न सकिनन् । लाहुर जान पाए कतै बाबासँग पनि भेट हुन सक्ने र दुई–चार पैसा कमाएर आफ्नो परिवारको मुखमा माड लाग्न सक्ने सम्भावना देखेपछि मनभरि सपना बुन्न थालिन् । घर चलाउनमा मीनाको अपरिहार्य भूमिका थियो । कहिले घर नछोडेकी सोझी मीनालाई बिर्खेको साथमा पठाउन आमा राजी थिइनन् । न त मुखियाको परिवारले नै स्विकार्ने अवस्था थियो । राम्रो लाउने, मीठो खाने सपनामा मीना बिर्खेसँग भागेर लाहुर जाने, धेरै पैसा पनि कमाउने, आमा र भाइ बहिनीलाई सुखी जीवन दिलाउने अठोट गरिन् । कहिल्यै घर नछोडेकी मीना एक नौलो संसारमा पाइला राख्दै थिइन् । मनमा अनेक शंका–उपशंका अनि खुसी, कौतुहलता र आफन्तबाट छुटिनुको पीडाले रातभर निदाउनै सकिनन् । बिहानीको प्रहर कुखुरी बास्नुअगावै मीना घरबाट निस्किइन् । डाँडाको चौतारीमा बिर्खे कुरेर बसेको थियो मीनालाई । त्यसपछि दुवै भञ्ज्याङको बाटो ओराली लागे दिनभरिको हिँडाइपछि गोधुली साँझको झिसमिसे उज्यालो रहँदै बस चढ्ने ठाउँ सुर्खेत बजारमा आइपुगे । अहो ! मीना पहिलोपटक सहरमा आएकी हुँदा ती ठूला घर, बजार मोटरगाडी देख्दा छक्क परेर हेरिरहिन्, कतै लाहुर भनेको यही त हैन भनेर । बिर्खे उर्फ विश्वासले मीनालाई जिस्काउँदै भन्यो, ‘मिनु यही बजारमा तिमीलाई एक्लै छोडेर गएँ भने कसो गर्छौं नि ?’ यति सुन्दा मीना डराउँदै मलाई ‘कहिल्यै कतै एक्लै छोडेर नजानुस् है’ भनेर बिर्खेलाई चिरिप्प समातिन् । हैन–हैन ए काली किन डराएकी मैले त हाँसो पो गरेको नि, भन्दै मीनालाई फकाउन थाल्यो । यत्तिकैमा नेपालगन्ज जाने बस छुट्नै लागेको थियो, दुवैजना बीचको सिटमा बसे । जब बस छुट्यो, मीना डरले आँखा चिम्म पारिन् । दोहोरी गीत गुन्जिएको थियो बसमा । निकै नौलो अनुभूति बटुल्दै मीना झ्यालबाहिर चिहाउन थालिन् । उता मीनाको घरमा बिहान मीनालाई नदेखेपछि आमा र भाइबहिनी धेरै चिन्तामा थिए । बिर्खे पनि घरमा नभएको कारण दुवैजना भागेको अनुमान लगाएका थिए । दुई परिवारलगायत गाउँलेहरूले । नेपालको बोर्डर कटाउन गाह्रो हुने हुँदा विवाहित जोडीजस्तो भेषमा टीकापोते सिन्दुर र सारी लगाएर बोर्डर कटायो, मीनालाई । भारतमा जतासुकै झिलिमिली सहर रेलमा चढेर गरेको यात्रा स्वर्गभन्दा कम लागेको थिएन मीनालाई, निकै खुसी थिइन् । माटोको कपमा तातोतातो चियाको चुस्की लिँदै गन्तव्य स्थानको कल्पनामा हराउँदै गर्दा कति छिटो बम्बई सहर पनि आइपुगेछ । बिहानको ५ बजे रेल स्टेसनमा उत्रिँदा मान्छे नै मान्छेको भीडमा खुट्टा राख्ने ठाउँ कतै छैन । न आफ्नो भाषा, न त भेष कता–कता नौलो र एक्लोपनको आभास भएको थियो मीनालाई । अब कहाँ जाने के गर्ने ? कुनै मेलोमेसो थिएन । यतिबेला आफ्नो गाउँघरको सम्झनामा आँखा रसाएर मीनाले गहभरि आँसु पार्दै बिर्खेसँग भनिन्, ‘भो नेपाल नै फर्कौं है ?’ कति खर्च गरेर, के–कति जाल रचेर ल्याएको थियो, बिर्खेले मीठा सपना देखाउँदै भन्यो, ‘लाटी केको नेपाल फर्किने नि ! तिम्रो बाबा पनि यतै हुनुहुन्छ । यो त लाहुर हो, अब धेरै पैसा कमाउनुपर्छ, तिम्रो बाबालाई खोज्न जाउँ है पहिला ।’ त्यसपछि ट्याक्सीमा लगभग एक घन्टाको यात्रा गरे, त्यो एक घन्टा बिर्खे फोनमा कुरा गर्दै थियो, हिन्दी भाषा हुँदा मीनाले बुझ्न सकिनन् । निकै उत्साहित मुद्रामा गफ गर्दै थियो, अब गन्तव्य पनि आइपुगेछ । दुवैजना ट्याक्सीबाट ओर्लिएर साँगुरो गल्लीको बाटो हुँदै करिब १५ मिनेटको पैदल यात्रापछि एउटा घरमा पुगे । एक अर्धबैँसे मोटी महिलाले ढोका खोल्दै भित्र पस्ने अनुमति दिइन् । दुवै भित्र पसे । मीनालाई त्यो ठाउँ निकै अनौठो लागेको थियो । बिर्खे र ती महिला खासखुस के–के कुरा गर्दै थिए । यत्तिकैमा एक महिलाले मुसुक्क हाँस्दै चिया लिएर अगाडि राखिदिइन् । बिर्खेले भन्यो, ‘मिनु तिमी चिया पिउँदै गर । म बाथरुम गएर आउँछु ल !’ ऊ निस्केर हिँड्यो । धेरैबे सम्म बिर्खे फर्केर नआएपछि मीना आत्तिँदै इसाराको भरमा ती मोटी महिलासँग सोधिन्, ‘मसँग आएको मेरो साथी खै त ?’ हिन्दी लवज तर नेपालीमै जवाफ आउँछ, ‘अब ऊ फर्केर आउँदैन, तिमीलाई बेचेर गयो । अब यहाँ आउने ग्राहकलाई तिमीले खुसी पार्नुपर्छ । लौ यी कपडा लगाएर तिमी तयार भएर बस ।’ त्यसपछि त्यो मोटी महिलाले मुखमा पान चपाउँदै मीनालाई तयार भएर बस्न अर्की केटीलाई आदेश गरी । अब के गर्नुपर्ने हो भन्ने मीनाले प्रस्ट रुपमा बुझ्न त सकिनन् । तर अब बिर्खेले उनलाई अञ्जान ठाउँमा एक्लै छोडेर गएको कुराले छाँगाबाट खसेजस्तै भएर हतास हुँदै डाँको छोडेर रुन थालिन् । ती अर्की महिलाले मीनालाई समातेर अर्को कोठामा लगिन् र धेरै सम्झाउने कोसिस गरिन्, ‘म पनि तिमीजस्तै दुष्ट पापीको फन्दामा परेर बेचिन पुगेकी हुँ, अब जति रोए पनि कराए पनि हाम्रो आवाज सुन्ने कोही हुँदैन । यहाँ यिनीहरुले जे भन्छन्, त्यही मान्नुपर्छ, नत्र कुट्छन् । चुरोटका ठुटाले पोल्छन्, यी हेर त मेरो कुन हालत छ !’ त्यसपछि मीनाका दुर्दिन सुरु भए । ऊ अझै फर्केकी घर फर्कन पाएकी छैन ।स्रोत : रातो पाटी

0 comments

Write Down Your Responses