सुष्मा स्वराजले राजेन्द्र महतोलाई भनिन्, ‘आन्दोलन जारी राखनुहोस्

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नयाँ सविधानले मधेशी समुदायसँग भेदभाव गरेको बताएकी छिन् । मेदान्त अस्पतालबाट डिस्चार्ज भई फ्लोअपका लागि दिल्लीमै रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको भेटमा स्वराजले सविधानमा मधेशीको माग सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्न पनि सुझाव दिएको महतोका पार्टीले जनाएको छ । ‘यो आन्दोलन मधेसको आन्दोलन हो,’ उनको भनाई उद्धृत गर्दै सद्भावना पार्टी स्रोतले बतायो, ‘मधेसीसँग यो संविधानमा भेदभाव भएकै हो त्यसैले तपाईंहरुको माग चाँडै पुरा होस् र राजनीतिक संकट सहज होस् ।’ जवाफमा अध्यक्ष महतोले पनि आफ्नो माग पूरा नहुन्जेलसम्म वीरगञ्ज नाका नखुल्ने र त्यसमा भारतले पनि कुनै प्रकारको दवाव नदियोस् भन्ने कुरा राखेका थिए । उनले आफू नेपाल फर्केपछि पुनः वीरगञ्ज रक्सैला नाकामा धर्ना बस्ने कुराको जानकारी सुष्मा स्वराजलाई गराए । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटघाटमा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सहसचिव अभय ठाकुर पनि उपस्थित रहेको सद्भावना पार्टीले जनाएको छ । यसअघि मंसिर २० गते भारत भ्रमणको क्रममा मोर्चाका नेताहरुसँग महतोले सुष्मा स्वराजसँग भेट गरेका थिए । यसपटक मोर्चाका अन्य नेता बिनानै स्वराजसँग भेट गर्न महतो पुगेका हुन् । पछिल्लो समय मोर्चाभित्र सद्भावना पार्टी असन्तुष्ट रहेको छ । अरामका लागि दिल्लीमा बसेका महतोले त्यहाँका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । उनले भाजका विभिन्न नेताका साथै विजय जोलीसँग भेटेका छन् भने भारतका पूर्व जर्नेल अशोक मेहतालाई पनि भेटेका छन् । भाजपाका नेता तथा नेपालको बारेमा जानकार मानिएका जोलीसँगको भेटमा अध्यक्ष महतोले नेपाल सरकार मधेशी जनताको अधिकार नदिने पक्षमा रहेको कुरा राखेका थिए । आन्दोलनको पाँच महिना भइसक्यो तर सरकार हालसम्म मधेश आन्दोलनलाई वेवास्ता गरि हिडिरहेको आरोप लगाउँदै उनले मधेशीको माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका थिए । त्यसमा नेता जोलीले मधेश आन्दोलनमा आफ्नो पूर्ण सहमति र समर्थन रहेको बताउँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशीको माग पूरा गरेर मात्र भारतको भ्रम गरे उनको लागि फलदायी हुने धारणा राखेका थिए । जोलीले सविधान संशोधन गरेर मधेशीको समस्या समाधान गर्नुपर्नेमा बढी जोड दिएको पार्टीले जनाएको छ । महतोले भारत पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग पनि भेटेका छन् ।स्रोत : रातो पाटी

0 comments

Write Down Your Responses