मालिस गरिदियौँ, खाना पकाइदियौँ, हाम्रो सेवाबाट सबै खुसी छन्: सीता बोहरा (एकल महिला)
नेपालमा वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि प्रभावित जिल्लाहरुमा उद्दारका लागि देशविदेशका थुप्रै स्वयंसेवकहरु खटिए । जसमा एकल महिलाहरुले खटेरै भूकम्प पीडितको उद्दार तथा सेवा गरे । त्यसक्रममा दश वर्षे सशस्त्र जनयुद्धमा श्रीमान गुमाएकी एकल महिला तथा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरा पनि खटिइन् । उनले जेष्ठ नागरिकको खुबै सेवा गरिन् । शरीर मालिस गर्नेदेखि लिएर खाना पकाइदिने, पानी भरिदिनेसम्मको सेवा गरिन् । अझै पनि भूकम्पपीडितको सेवामा खटिने उनको योजना छ । यसै सेरोफेरोमा एकल महिला बोहरासँग दैनिक नेपालले गरेको कुराकानीको सम्पादित अंश
भूकम्प पीडितको उद्दारमा कुन कुन जिल्ला खटिनुभयो ?
भूकम्प प्रभावित जिल्ला धादिङको सल्यानटार गाविसमा खटियौं । हाम्रो समूहले ४५ दिन भूकम्पपीडितहरुको सेवा गर्यो । जसको नेतृत्व मैले गरेकी थिएँ ।
भूकम्प पीडितको उद्दारमा कसरी खटिनुभयो ?
भूकम्प आइसकेपछि सबै जना उद्दारमा खटिए । टेलिभिजन हेरँे, समाचार पढँे । जहाँ मैले ती हृदयविदारक दृश्य देखेँ । त्यसपछि उद्दारमा खटिनुपर्छ, दिनदुःखीको सेवा गर्नुपर्छ भन्ने भावना मेरो मनमष्तिस्कमा जागृत भयो । भूकम्प पीडितको सेवा गर्न ठूलो रहर, धोको बढ्यो । त्यसपछि सेवा गर्न भन्दै सुदूरपश्चिमको कञ्चनपुरबाट राजधानीतर्फ हिडेँ ।
एक्लै जानुभो कि वा कुनै संस्थाको समन्वयमा ?
हामी समूह बनाएरै भूकम्प प्रभावित क्षेत्रमा खटियौं । राजधानीमा टेवा र नागरिक आवाज संस्थाको अभियान अन्तर्गत ‘हाम्रो टेवा गाउँघरमा’ भन्ने अभियान लिएर सेवा गर्न हामी गाउँ पस्यौँ । यो अभियानमा टेवा र नागरिक आवाजका संस्थापक रिता थापा, नागरिक आवाजका सुजनसँगै समन्वय गर्यौ । र धादिङको स्थानीय संस्था फोकस नेपालको पनि ठूलो सहयोग पायौं ।
तपाईहरुको कति वटा टिमले काम गर्यो ?
भूकम्प पीडितको तत्कालिन मानवीय सहयोग र मनोपरामर्श कार्यक्रमका लागि हामीले पाँच वटा महिला टिम बनायौँ । जसमा धादिङ, गोरखा, काठमाडौं धर्मस्थली, भक्तपुर, ललितपुर झरुवारसी, सिन्धुपाल्चोक लगायतका ६ वटा जिल्लाका महिला स्वयंसेविकाहरु हुनुहुन्थ्यो । ३५ जना स्वयमसेवकमा सुदूरपश्चिमबाट म एक्लै थिएँ । अन्य स्वयंसेविकाहरु टेवा संस्थाको सम्पर्कबाट सेवामा खटिए । सेवा गर्ने मेरो धोको पनि टेवाले नै पुरा गरिदियो ।
भूकम्प प्रभावित क्षेत्रमा खटिएर के–के सेवा गर्नुभयो ?
हामीले मनोपरामर्श दिने, भूकम्प पीडितको त्रासमुक्त तथा भय हटाउन सांस्कृतिक कार्यक्रमहरु, गीतहरु आफै रचना गर्ने सुनाउने काम गर्यौ । त्यसको लिडर म आफै थिएँ । स्कुलमा खेल खेलाएर, गीत गाएर मनोपरामर्श दियौं ।
त्यसैगरी भूकम्पमा घाइते जेष्ठ नागरिकहरु, महिलाहरुको मसाज गरिदिने, खेतीको सिजन थियो खेत खनिदिने, बालबच्चाको हेरचाह, चर्किएका भवनहरु भत्काउने, अस्थायी टहराहरु निर्माण, अस्थाई विद्यालय निर्माण, ढुंगा–माटो, कोदो मकै बोक्यौँ ।
२७ सय घरमध्ये काम लाग्ने घर २ सय पनि थिएनन् । क्षति नपुगेको घरै थिईन् । हामी खटिएको गाविसमा मात्रै २३ जनाको मृत्यु भएको थियो । अरु गाविसबाट विस्थापित भएर आएका ८ सय परिवारलाई गाउँलेसँग बाँस मागेर टहरा बनायौं, खानेकुरा मागेर खुवाउने, अस्पताल पुगाउने काम गर्यौ । खुला आकाशमा अस्थाई ओतको व्यवस्था गरिदियौं ।
तपाईहरुले गर्नुभएको सेवामध्ये सबैभन्दा उपलब्धिमूलक के लाग्यो ?
हामीले त्यो गाविसमा भूकम्पमैत्री अस्थाई विद्यालय निर्माण गरेका थियौ । जहाँ वरपरका गाउँ तथा गोरखाबाट समेत पढ्न आउने गरेका छन् । अहिले त्यहाँ ४५ भन्दा बढी विद्यार्थी पढ्छन् । त्यसको उद्घाटन पनि हामीले नै गरेका थियौँ । त्यहाँ विद्यार्थी भाइबहिनी पढेको देख्दा साह्रै खुसी लाग्यो । विद्यार्थीहरु पनि खुसी छन् । साथै हाम्रो अभियानले महिला शक्तिलाई उजागर समेत गरेको छ यो नै ठूलो उपलब्धि हो । अर्काे कुरा हामीले मानवीय सहयोग गरेका थियौं । हामी पनि सल्यानटारकै परिवार भइसकेका थियौं । हाम्रो सेवाबाट पाँच हजार जति परिवार लाभाम्वित भएका छन् । त्यहाँबाट हामी फर्किदा पुरै गाउँले रोएका थिए ।
अबको योजना के छ ?
जति सेवा गर्यो त्यती नै मनलाई शान्ति र सन्तुष्टि मिल्दोरहेछ । जीवन के हो भन्ने कुरा मैले बल्ल थाहा पाए । भनिन्छ सेवा नै धर्म हो यही भनाईलाई शिरोधार्य गर्दै अब भूकम्प पीडितको सहयोगका लागि थप योजना बनाउँदैछु । त्यहाँका नागरिकले मलाई बोलाइरहेका छन् र मेरो आवश्यकता पनि छ । तसर्थ म फेरि भूकम्पबाट घरबार विहिन दाजूभाई दिदीवहिनी आमाबाबुको सेवा गर्न जाने योजनामा छु ।
४५ दिनको अवधिमा पीडा र अभावको जीवन नियाल्नुभो, त्यसबाट के सिक्नुभयो ?
नेपाल पुरुष प्रदान राष्ट्र हो । महिलाहरु बाहिर गएर बस्न अग्नीपरीक्षा नै हुन्थ्यो । हामीले त बिरानो ठाउँमा गएर असहाय जेष्ठ नागरिकलाई सहयाग गर्न पायौं । यस्तो विपत जुनसुकै बेला जहाँ पनि हुन सक्छ । मानवीय सम्वेदनाले सहयोग गर्नुपर्छ, दुःख देख्यौ । अस्थाई टहरा निर्माण गर्न सिक्यौ । विभिन्न भाषा परिवेश अनुभव गर्न पायौ ।
अन्त्यमा समाजका महिलाहरु अझ विशेषगरी एकल महिलाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
विपत्तिका बेला हामीले महिला हौ, एकल महिला हौ भनेर भित्र नबसेर उद्दारमा जानुपर्छ । उस्तै पनि ‘पहाडमा जाडो बढे तराईले छेक्छ, तराईमा गर्मी बढे पहाडले रोक्छ’ भनेझै आइपरेको समस्या पुरुष महिला नभनी मिलेर गर्नुपर्छ ।
0 comments
Write Down Your Responses