संसारमा धेरै महिला बलात्कृत हुने देशले हामीलार्इ सिकाउने ? राष्ट्रपतिको अपमानमा पनि भारतको हात !

काठमाडौं : जानकी मन्दिरमा मधेसी मोर्चाबाट भएको राष्ट्रपतिमाथिको अपमानलाई लिएर बुधबार बसेको संसद् बैठकमा सांसद्हरुले चर्को प्रश्न उठाएका छन् ।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा थापा मगरले बेलायतले भारतमा हिन्दु धर्मको नाममा दंगा फैलाएजस्तै भारतले नेपालमा मधेसी र पहाडीबीच भिडन्त गराउन खोजेको बताएकी छन् ।

‘बेलायतले भारतमा हिन्दुको झगडा लगाएकै शैलीमा भारतले नेपालमा मधेसी र पहाडेबीच भिडाउन खोज्दैछ’, उनले भनिन्, ‘आफ्नै समस्यामा फसेको भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गराएर नेपाललाई कता लैजान खोजेको हो ?’

सभासद् थापा मगरले भारतको अहिलेको गतिविधि नेपाललाई सिक्किमीकरण या नयाँ बंगलादेश बनाउने किसिमको रहेको बताउँदै राष्ट्रपतिको अपमानमा पनि भारतको हात हुनसक्ने बताइन् ।

‘मधेसी दलका नाममा नेपालमा नाकाबन्दी गरेको कुरा भारतीय सञ्चारमाध्यमले पुष्टि गरिसकेका छन्’, उनले भनिन्, ‘नाकाबन्दी लगाइरहेको भारतले राष्ट्रपतिज्यू जानकी मन्दिरमा जाँदा भएको अपमानजनक व्यवहारमा पनि भारतको हात हुनसक्छ ।’

सभासद् थापा मगरले भारतमै सबैभन्दा गरिब जनता रहेको जनाउँदै नेपालीले आफ्नो खुट्टामा उभिन खोज्दा हस्तक्षेप गर्न खोज्नु नाजायज भएको बताइन् ।

‘भारतमा सबैभन्दा महिला बलात्कृत हुन्छन्, संसारमा धेरै गरिब पनि त्यहीँ छन्’, उनले भनिन्, ‘अनि हामीलाई भारतले सिकाउने ?’

,

0 comments

Write Down Your Responses