धेरै मेकअप गर्ने बानी छ ? प्रहरीको केरकारमा परिएला ( थाहा पाउनुहोस)

हातखुट्टा फुटेका थिए, अनुहार र हातखुट्टामा अस्वाभाविक रूपमा मेकअप गरी नयाँ–नयाँ कपडा लगाएका थिए । एयरपोर्टमा पुगेर समेत हातखुट्टा फुटेको लुकाउन शृंगार गरिरहेका थिए । २५ देखि ४० वर्ष उमेर समूहका आठजना महिला बुधबार थाइल्यान्ड घुम्न जाने भन्दै हातमा पासपोर्ट र टिकट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अत्यधिक र अस्वाभाविक मेकअप गरेको देखेपछि प्रहरीले शंका लागेर उनीहरूलाई सोधपुछ गर्‍यो । उनीहरूले आफूहरू घरेलु कामदारका रूपमा काम गर्न कुवेत जान लागेको बताए । तर, उनीहरूको टिकट बैंककको थियो, पासपोर्टमा थाइल्यान्डको टुरिस्ट भिसा लागेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा मानव बेचबिखनमा संलग्न समूहले वैदेशिक रोजगारमा कुवेत पठाउने नाममा बैंकक पुर्‍याएर बिक्री गर्न लागेको खुलेको छ । गाउँका सोझा महिलालाई यसरी कुवेत पठाउने नाममा एक समूहले बिक्री गर्न लागेको हो । प्रहरीले तस्करीमा संलग्न कलंकीका प्रकाश केसी र नुवाकोटका सूर्यमान श्रेष्ठलाई पक्राउ गरेको छ । विभिन्न गाउँका महिलालाई उनीहरूले वैदेशिक रोजगारका नाममा बिक्री गर्न लैजान खोजेको खुलेपछि मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले बताए । ‘पक्राउ परेकाहरू यसअघि पनि नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका रहेछन्,’ एसपी थापाले भने । उद्धार गरिएका महिलाहरूसँग उनीहरूले पैसासमेत लिएको खुलेको छ । ग्रामीण महिलाहरू भिजिट भिसामा थाइल्यान्ड जान लाग्दा शंका लागेर अध्यागमनले रोक्न सक्ने आशंकामा उनीहरूले धेरै मेकअप गरेका थिए । सोही मेकअपका कारण उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न एजेन्टहरूले कुवेत पठाउने प्रलोभनमा पारी उनीहरूलाई काठमाडौं ल्याएको खुलेको छ । खासगरी भूकम्पपछि अझ गाउँका महिलाहरूलाई बिक्री गर्ने दलालहरू सक्रिय भएको प्रहरीले जनाएको छ । जसविरुद्ध प्रहरीले पनि विशेष सक्रियता देखाउँदै आएको छ । भूकम्पपछि बढेको मानव तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीले युनिसेफसँग मिलेर जनचेतना र नियन्त्रणका थप चेकपोस्टहरू राखेको छ । स्रोत : इ ताजाखाबर . कम

,

0 comments

Write Down Your Responses