भूकम्पपीडितलाई लुगा र झोला बाँड्दै राजेश हमाल [फाेटाेहरु] सहित
पुस १६, २०७२- नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा बिहीबार बिहान पुगे । उनलाई हेर्न मेलापात छाडेर गाउँभरीका बुढापाका र बालबालिका भेला भएर बसेका थिए । भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी पुगेका थिए ।
भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले बियरको बोतलमा राखेको छयाङ छर्किए । स्थानीयले भने, ‘यो चाहिँ कार्यक्रमको शुद्धिकरण गरेको हो ।’
फिल्ममा मात्रै देखेका हमाललाई आफ्नै गाउँमा प्रत्यक्ष भेट्न पाउँदा गाउँलेहरु निकै खुसी देखिन्थे । उनलाई स्थानीयले चौरीको दुधले स्वागत गरे । हमालले सोधे, ‘यो के हो ?’ स्थानीयले चौरीको दुध भनेपछि उनले फेरि सोधे, ‘याकको हो ?’ गाउँलेले उनलाई याक भाले र चौरी पोथी भएको बुझाएपछि उनले दुख चाखे । उनले फेरि ती महिलालाई प्रश्न गरे, ‘यो दुधमा चिनी हाल्नु भएको हो ?’ महिलाहरुले भनिन्, ‘हैन हजुर यो त पियोर हाम्रै गोठको चौरीको दुध हो ।’
भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका स्थानीयको बीचमा उनले फोटो खिचाए । बालबालिकालाई झोला वितरण गरे । विद्यार्थीलाई पढाईमा निरन्तरता दिन हौसाए । आधा घण्टाको बसाईमा दाताले दिएको न्यानो कपडा बालबालिकालाई लगाई दिए । स्थानीयसँग बिदाई हुने बेलामा भीडबाट उनलाई एउटा फिल्मको डाइलग बोल्न आग्रह आएपछि उनले बोले– साथीको लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम ।
हेलिकप्टर चढेर गुम्बा गाबिसकै पाङतान जान हतारमा उनी थिए । तर, स्थानीयले उनलाई लगाइदिन ल्याएको माला र खादा लगाउन पाएकै रहेनछ । बारीको डिलमा राखेको हेलिकप्टर चढ्नै लाग्दासम्म विद्यार्थी र स्थानीयले माला लगाउन दौडेर आइरहेका थिए ।
गुम्बा गाबिसकै पाङताङको अर्को कार्यक्रममा भूकम्प पीडितहरु स्वागतका लागि पर्खिबसेका थिए । भूकम्पले २ सयभन्दा बढी घर भत्किएको यो बस्ती हुँदै सेतीदेवी माविका विद्यार्थीलाई झोला वितरणस्थल पुगे । कक्षाकोठामा छिरेर उनले विद्यार्थीसँग भलाकुसारी गरे ।
भूकम्पपीडित विद्यार्थी र स्थानीयको न्यानो माया पाए पनि उनीहरुको अवस्था दयनीय पाइएको हमालले बताए । ‘रमाइलो गाउँको यात्रा गरियो, तर छाप्रोमा कष्टकर अवस्थामा बस्न मानिसहरु बाध्य रहेछन् । यो चिसोमा गतिलो लुगा पनि रहेनछ । बालबालिकाको अवस्थाले मेरो मन छोयो, दु:ख लाग्यो ।’
तस्बिरहरु : मकर श्रेष्ठ
0 comments
Write Down Your Responses