‘दिल्लीमा बसेर आन्दोलन घोषणा गर्नेलाई मधेसका जनताले चिनिसके, अब लखेट्छन्’

इटहरी, १९ पुस : उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राज्य विभाजित गर्ने वा देश विखण्डन गर्ने जो कोही भए पनि त्यसलाई राज्यले कडा कारबाही गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आज सुनसरीको दुहवी–भलुवा नगरपालिका–३ पचिरादेखि फर्सेसम्मको साढे दुई किमी कालोपत्र सडकको शिलान्यासपछि सञ्चारकर्मीसँगको कुराकानीका अवसरमा सो कुरा बताउनुभएको हो । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेकाले अब साथ नदिने ठोकुवा गर्नुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सिरहा, सप्तरी क्षेत्र अर्थात् तराईको क्षेत्रमा विखण्डन ल्याउने गरी सैन्य दस्ता तयार गर्ने गरेको र मधेस राज्य विभाजन गर्ने गरी अभियान चलाइरहेको सिके राउतको गतिविधिप्रति सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफमा उहाँले कसैलाई पनि राज्य विखण्डित पार्ने अधिकार नभएको ठोकुवा गर्नुभयो । उहाँले त्यसप्रकारको गतिविधि गर्नेलाई राज्यले नियन्त्रित गर्ने पनि स्पष्ट पार्नुभएको छ ।
अर्को प्रसङ्गमा उपप्रधानमन्त्री गच्छदारले मधेस आन्दोलनले मधेसी जनतालाई नै आजित र मर्माहत तुल्याएकाले अब मधेसका बखेडामा अल्झिएका राजनीतिक दलले त्यसलाई छोडेर सहमति सहकार्य र छलफल प्रक्रियामा आएर निकास निकाल्ने विषयमा सबै पक्ष सहमतिमा जान लचक हुनैपर्ने कुरामा जोड दिनुभएको छ ।
यो वा त्यो बहानामा नेपाली जनतालाई दुःख दिने विषय कसैलाई पनि मान्ने नहुने र त्यो विषयले कहिल्यै प्रथामिकता पनि पाउन नसक्नेतर्फ उहाँले सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सरकारमा रहेका राजनीतिक दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसवादी दलले आफूलाई लचकतामा रुपान्तरण गरेर अब अन्तिमपटक सहमतिका लागि वार्तामा बस्न जरुरी रहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्दैमा चाहेको कुरा प्राप्त गर्न कठिन रहेको तर्क अघि सार्नुहुँदै क्रान्ति गर्ने वा आन्दोलन गर्ने पक्षले पनि के गर्दा सबैको हित हुन सक्छ भन्ने विषयमा विश्लेषण गर्न जरुरी रहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेको पनि खुलासा गर्नुभएको छ । रासस

,

0 comments

Write Down Your Responses